पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्क्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन टुट्दै टुट्दैन भनेर ग्यारेन्टी गर्न नसक्ने बताएका छन् । एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुसन् ।
प्रचण्डले भने, ‘मैले इमान्दारितासाथ के भन्नुपर्छ भने विभिन्न शक्तिहरू, राजनीतिक दल र प्रवृत्तिहरू जसरी आ–आफ्नो इन्ट्रेष्ट अनुसार चल्न खोजिराखेको स्थिति छ, ग्यारेन्टीका साथ गठबन्धन टुट्दैन भनेर शतप्रतिशत भन्न पनि मलाई अप्ठ्यारो छ ।’
‘वर्तमान सत्ता गठबन्धन टुट्छ कि भन्नेखालको तरंग आइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र तपाईं लगायतका शीर्ष नेताबीच दैनिकजसो छलफल पनि भइराखेको छ ।
प्रष्टसँग भनिदिनोस्, सत्ता गठबन्धन टुट्ने सम्भावना छ ? अथवा, टुट्दैन भनेर ढुक्क हुने अवस्था छ ?’भन्ने प्रश्नमा उनको जवाफ यस्तो छ?ः
यो प्रश्न धेरैतिरबाट धेरै मानिसहरूले सोध्ने गरेका छन् । आजका दिनसम्म गठबन्धन टुट्ने कुनै सम्भावना मैले देख्दिनँ । गठबन्धन जान्छ ।
प्रधानमन्त्रीदेखि गठबन्धनका सबै नेताहरूको यसलाई चुनावसम्म लिएर जानुपर्छ र सकियो भने चुनावपछि पनि लानुपर्छ भन्ने एउटा कमिटमेन्ट भएको र अहिले पनि कायमै भएको हुनाले गठबन्धन टुट्दैन भन्ने नै मैले महसुस गर्छु ।
म नेपालको राजनीतिमा त्यस्तो पात्रका रुपमा आफूलाई भेट्छु कि राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने एउटा उक्ति छ ।
मैले त्यो व्यवहारमा पनि शान्ति सम्झौतादेखि विभिन्न मानिसहरूलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा पनि, कार्यगत एकता गर्ने सन्दर्भमा पनि राजनीतिका घुम्ती मोडहरूमा त्यस्तो गर्दै आएको छु । त्यसकारण मैले रुलआउट चाहिँ गर्दिनँ ।
तर, अहिले एमसीसीकै विषयलाई लिएर जस्ता किसिमका कुराहरू बाहिर आइराखेका छन् र बहस जसरी भइराखेको छ, म के ग्यारेन्टीका साथ आफूलाई भन्ने स्थितिमा पाउँदिनँ भने टुट्दै टुट्दैन भन्न पनि गाह्रो भएको मलाई महसुस भएको छ ।
तपाईंले जसरी सीधा भन्दिनोस् त भनेर सोध्नुभयो नि, पहिलो भाग त मैले सीधा भनेँ, हाम्रो गठबन्धन टुट्दैन भन्ने नै प्रधानमन्त्री, हामी सबैको छ भनेर ।
दोस्रो भागमा मैले इमान्दारितासाथ के भन्नुपर्छ भने विभिन्न शक्तिहरू, राजनीतिक दल र प्रवृत्तिहरू जसरी आ–आफ्नो इन्ट्रेष्ट अनुसार चल्न खोजिराखेको स्थिति छ, कहीँ दुर्घटना त हुँदैन भन्ने कुरामा पनि त्यत्तिकै सतर्कता अपनाउनुपर्ने छ ।
त्यसैले ग्यारेन्टीका साथ टुट्दैन भनेर शतप्रतिशत भन्न पनि मलाई अप्ठ्यारो छ ।
कथंकाल परिस्थिति भयो भने त नैतिकरुपले सरकारमा बस्न मिल्दैन । सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीचाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न मिल्दैन । नैतिकरुपले मिल्दैन ।

