माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी संसदमा टेबुल गर्न सघाउने ‘सम्झौता’ गरेको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताका अनुसार राणाविरुद्ध महाअभियोग दर्ता भएको अवस्थामा आफूहरुले एमसीसी संसद्मा टेबुल गर्न सघाउने भनेर प्रचण्ड र नेपालले वाचा गरेका हुन्।
प्रधानमन्त्री देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो।
शनिबारको भेटवार्तामा पनि देउवाले पहिलेजस्तै एमसीसी जसरी पनि संसद्मा लैजान आफूमाथि दबाब रहेको र संसद्मा लैजाने प्रक्रियामा ुअसहयोग नगरिदिनु आग्रह गरेका थिए।
देउवाको प्रस्तावपछि प्रचण्ड र नेपालले राणाविरुद्ध महाअभियोग लगाए आफूहरु एमसीसी संसद्मा लैजाने प्रक्रियामा सहयोगी बन्ने शर्त राखेका थिए।
प्रधानमन्त्री देउवा निकट कांग्रेस नेताका अनुसार एमसीसी संसद्मा टेबुल भएर निर्णयार्थ पेस हुँदा भने माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसद्हरु संसद्मा अनुपस्थित हुने पनि प्रचण्ड र नेपालले देउवालाई जानकारी गराएका छन्।
फागुन १६ अघि नै एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले सत्ता गठबन्धनको सहयोग नपाउने भएपछि प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद थालेका थिए। त्यही कारण राणाविरुद्ध महाअभियोग लगाएर एमालेलाई चिढाउन चाहेका थिएनन्।
तर, टेबल गर्न नै सघाउने प्रचण्ड-नेपालको वाचापछि आइतबार राणाविरुद्ध महाअभियोग दर्ता भएको हो।
आइतबार समाजवादीका १४ सांसद विरुद्ध एमालेले हालेको मुद्दाको पेसी रहेको नेताद्वयले शनिबार नै सूचना पाएका थिए। त्यसअघि कानुन, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले न्यायाधीशको सरुवा–बढुवामा प्रधानन्यायाधीश राणाले आफूखुसी गर्न खोजेको ब्रिफिङ गरेका थिए।
गत माघ २४ गते न्यायपरिषद्को बैठक बोलाइए पनि कानुनमन्त्री बडु र महान्यायाधिवक्ता खम्मप्रसाद खाती अनुपस्थित रहे। यही कारण बैठक रोकियो, तर न्यायपरिषद् सचिवालयले परिषद् सदस्य रामप्रसाद भण्डारीको स्वास्थ्य समस्याका कारण बैठक स्थगित गरिएको जानकारी दिएको थियो।
मन्त्री बडु र महान्यायाधिवक्ता खाती एमाले अध्यक्ष केपी शर्मा ओलीअनुकूल हुनेगरी राणाले न्यायाधीशको सरुवा बढुवा गर्न खोजेको बुझेपछि अनुपस्थित भएका हुन्।

