प्रतिनिधिसभाको आगामी बैठकमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनका लागि पेश गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी रहदाँ गठबन्धनको भविष्य धरापमा पर्ने देखिएको छ । अबको केही दिनमा राजनीतिमा ठूलै उलटपुलट हुने निश्चितप्रा भएको छ ।
बैठकमा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुने र एमसीसी पास गर्ने वा नगर्ने नेकपा एमालेमा भर पर्ने पनि आँकलन भइरहेकै छ ।
यसअघि, प्रचण्ड र देउवाले एमसीसी अनुमोदनका लागि सहमति जुटाउन समय मागेका थिए । तर पुसमा सम्पन्न महाधिवेशनबाट माओवादीले यथास्तितिमा एमसीसी अनुमोदन नगर्ने निर्णय लियो भने एकीकृत समाजवादी पनि त्यही लाइनमा उभियो ।
सभामुख अग्निप्रसाद सापकोटाले पनि राष्ट्रिय सहमति वा सत्तारुढ गठबन्धनको सहमतिमा मात्र एमसीसी टेबल हुन नसक्ने बताएको नेताहरु बताउँछन् ।
प्रधानमन्त्री एमसीसी टेबल नगरी नछाड्ने, प्रचण्ड–माधव नेपालले नदिने अडानका कारण सत्तारुढ गठबन्धनकै भविष्यमा प्रश्न उठेको थियो । प्रधानमन्त्री देउवाले प्रमुख विपक्षी नेकपा एमालेसँग सम्वाद गरे । त्यो थाहा पाएपछि प्रचण्डले पनि पार्टीका नेताहरुमार्फत एमाले नेताहरुसँग सम्वाद गरे । कांग्रेसका एक नेता भन्छन्, ‘यो बीचमा एमालेलाई देखाएर दुबैले एकअर्कालाई तर्साउने खेल भयो ।’
अमेरिकाले पनि प्रचण्डमाथि दबाव बढाउन देउवासँग मिलेर ४र५ महिना समय माग गर्दै लेखेको पत्र सार्वजनिक मात्र भएन, २८ फेब्रुअरी अर्थात् १६ फागुनको डेडलाइन दियो ।प्रधानमन्त्री देउवाले २३ माघमा प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुबाटार बोलाए ।
नेताहरुका अनुसार त्यो छलफलमा देउवाले एमसीसी अनुमोदनका लागि एमालेको साथ लिएर भए पनि अघि बढ्न सक्छु भन्ने सन्देश दिन चाहेका थिए ।
तर ओलीले एमसीसी टेबल भएको अवस्थामा एमालेले समर्थन गर्छ भनेनन् । बरु अरु बेला झै सत्ता गठबन्धनको धारणा आएपछि मात्र बोल्ने भनेर पन्छिए ।
एमसीसी सम्झौता संसदमा अनुमोदन गराउने क्रममा मन्त्रिपरिषद्बाट नयाँ निर्णय नगर्ने सरकारको तयारी छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले निर्णय गरेर तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा दर्ता गराएको प्रस्ताव अघि बढाउने देउवा सरकारको तयारी छ ।
त्यो प्रस्तावमा एमसीसी सम्झौतालाई संघीय संसदबाट अनुमोदन गराउने र दातृ निकायलाई जानकारी गराउने भनिएको छ ।
स्रोतका अनुसार यही बुधबार बस्ने प्रतिनिधिसभा बैठकमै एमसीसीबारे छलफल गराउने सरकारको तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाले पनि भोलि सोमबार सर्वदलीय बैठक बोलाएका छन् ।
यदि ४ फागुनको संसद बैठकमा एमसीसीबारे छलफल हुने भयो भने माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुने वा एमसीसीको विरोध गरेर बाहिर निस्कने बाटो रोज्न सक्छन् । त्यो बेला संसदमा उपस्थित सांसद संख्याको बहुमतका आधारमा एमसीसी पास गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।
उनको हिसाब छ, एमसीसीको विपक्षमा जम्मा चार भोट खस्छ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिङ्देन र नेकपा एमालेका भीम रावल ।
स्रोतका अनुसार रावलले एमसीसी टेबल भए संसदमा उपस्थित भएर विपक्षमा भोट हाल्ने खबर पठाएका छन् । अरुले एमसीसीको विपक्षमा मत दिने निर्णय गर्न नसक्ने प्रधानमन्त्री देउवाको दाबी छ ।
तर देउवाले चाहे जसरी एमसीसी पास गर्न पनि एमाले नै निर्णायक हुने देखिएको छ । संसदमा एमालेका ९७, कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २४, जनता समाजवादीका १९, लोकतान्त्रिक समाजवादीका १३ र जनमोर्चा, नेमकिपा र राप्रपाका एक–एक सांसद छन् ।

