नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले एमसीसी यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकार ९मन्त्रिपरिषद० ले संसद्मा दर्ता गराएको स्मरण गराएका छन् ।
उनले भने,‘केपी ओली सरकारले २०७६ असारमा एमसीसी संसद्मा दर्ता गराएको हो, तत्कालिन मन्त्रिपरिषद्मा अहिलेको एकीकृत समाजवादीका साथीहरु पनि त्यहीँ हुनुहुन्थ्यो, माओवादीका साथीहरु पनि त्यहीँ हुनुहुन्थ्यो, सबै साथीहरु त्यहीँ हुनुहुन्थ्यो, त्यसैले अहिले यो दर्ता गराएको कुरा नयाँ होईन, त्यही नै अनुमोदन गराउनुपर्छ भन्ने हो ।’
आज बसेको पार्टीको संसदीय दलको बैठकपछि मिडियाकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । उनले कांग्रेस सरकारमा बस्दै गर्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को पोजिसन नलिने सुनाए ।
उनले भने,‘केही साथीहरुले निर्वाचनको लाभ र हानीको कुरा पनि गर्नुभयो, तर निर्वाचनमा लाभ/हानी होला भनेर हामी आफ्नो कर्तव्यबाट च्यूत हुनुहुँदैन् ।
र, अन्तिम कुरा केपी ओलीले संसद्मा टेबुल गरेको विद्येयक हामी पारित गरौं भन्दैछु, तर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी सदनबाट पारित गराउने षड्यन्त्र हुँदैछ भनेर भनेको कुरा सुन्दा मलाई उदेक लागेको छ ।’
थापाले एमसीसीबारे सबै दलहरुले पक्षमा उभिएर संसदबाट पारित गर्ने भन्ने कुरा आफूहरुले विश्वास लिएको सुनाए । उनले भने,‘एमसीसी भोलि पेश हुन्छ भन्ने कुरामा प्रधानमन्त्रीले यो विषयमा मैले सभामुखसँग कुरा गरेको छु भन्नुभएको छ, सभामुखसँगको परामर्शपछि एमसीसी टेबुल हुन्छ भन्ने कुरामा उहाँले हामीलाई विश्वास दिलाउनुभयो ।’

