नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । मन्त्री खतिवडाले कोरोना भाइरसविरुद्धको खोपबारे झुटो बोलेको प्रमाण सार्वजनिक गर्दै एमालेले स्वास्थ्यमन्त्रीको राजीनामा मागेको हो ।
एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजारमा किनेर लगाएको अभिव्यक्ति दिएर मन्त्री खतिवडाले अफवाह फैलाएको बताएका छन् ।
एमालेले सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्यमन्त्री खतिवडाको नाम पनि सार्वजनिक गरेको छ ।खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ दाबी गरेका थिए ।
उनको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै एमालेले राजीनामा मागेको हो ।
‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ ।
तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र।सं। ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ ।
उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४ को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ,’ भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि, गएराती माधव नेपाल नेतृत्वको एस पार्टीका अर्का मन्त्री प्रेम आलेको गालीगलौजमा उत्रिएको निकै असभ्य सामग्री सार्वजनिक भएपछि पार्टीको बदनाम भएको छ ।

