विवादित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । जगत ओली नाम गरेका एक युवाले अश्लील अडियो सम्वाद सार्वजनिक गरिदिएपछि मन्त्री आले विवादमा तानिएका हुन् ।
मन्त्रीको ओहदामा रहेको व्यक्तिले अश्लील शब्द प्रयोग गर्दै धम्की दिएको भन्दै आलेको आलोचना मात्र होइन, राजीनामाकै माग भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतमा रहेका अछामका जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल बन्यो ।
२ मिनेट २५ सेकेण्डको अडियोमा आलेले आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै जंगिएका मात्र छैनन्, अश्लील शब्दप्रयोग गर्दै ज्यान मार्ने धम्की नै दिएका छन् ।
जगत ओलीको दाबीः अडियो एक दिन अघिको हो, आलेले १०/१५ चोटी फोन गरे १
आफूसँग कुरा गरेको भन्दै अडियो बाहिर ल्याउने ओलीले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै भिडियो सत्य रहेको बताएका छन् । उनले भने, ‘अडियो त्यही नै हो, मैले केही गरेको छैन । छानविन होस्, म दोषी देखिए कारवाही भोग्छु । तर, यस्तो अभिव्क्ति दिने आलेले राजीनामा दिनुपर्छ ।’
ओलीले यसअघि, प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि आले विश्वासको मत दिन तयार भएको भन्दै रिपोटर्स क्लबबाट कुरा आएको भनेर प्रेम आलेसँग आफूले जिज्ञासा राखेको बताएका छन् ।
जगत ओलीले भनेका छन्, ‘आलेले हैन त्यो ॠषी धमला डाँका हो । मलाई बदनाम गर्न खाजेको हो । त्यसपछि आलेले देउवालाई नै विश्वासको मत दिएपछि मैले आलेको विरोध गरेको हो ।’

