अमेरिकी सहायता परियोजना (एमसीसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा बुधबार प्रदर्शन गरिएको छ।
स्वतन्त्र नागरिक समाजको आयोजनामा अनामनगरबाट सुरु भएको मोटरसाइकल र्यालीले माइतीघर मण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो।
र्यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्यालीका सहभागीले ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए।
सरकारले आज संसद्मा एमसिसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज राजधानीको यातायात सेवा केही प्रभावित भएको छ।
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्।
संसदीय दलको बैठक लगत्तै प्रचण्ड एमसीसी टेबल हुनबाट रोक्न देउवालाई भेट्न बालुवाटार पुगेका हुन्। बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन्।
यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र सरकार छाड्ने माओवादीको तयारी छ।
माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ। सोही निर्णय सुनाउन र देउवालाई मनाउन प्रचण्ड अन्तिम प्रयासस्वरुप बालुवाटार पुगेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए।

