नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत पूर्ववर्ती सरकारका ४ मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिएको छ ।
अनेरास्ववियू बागमती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले ओली लगायत एमाले नेताहरूविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
नेकपा एसनिकट अखिलका अध्यक्ष सुदेश पराजुलीसहित कार्यकर्ताले बिहीवार टंगालस्थित अख्तियार कार्यालयमा गएर उजुरी दर्ता गरेका हुन् ।
झापाको गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गरेर अर्बौंको सार्वजनिक सम्पत्ति हडप्न प्रयास गरेको आरोप लगाइएको छ । उजुरीकर्ताले तत्कालीन प्रधानमन्त्री ओली र भूमिसुधार मन्त्री पदमा अर्यालमाथि कारवाही गर्न माग गरेका छन् ।
यस्तै, कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरिएको भन्दै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कारवाही गर्न माग गरिएको छ ।
पर्यटन भ्रमण वर्ष २०२० को नाममा करोडौं भ्रष्टाचार गरेको भन्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईमाथि कारवाही गर्न माग गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।
यसअघि २४ लाख खोपमा अनियमितता गरेको भन्दै एमालेको भातृ संगठन युवासंघले अहिलेका स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि कारवाही गर्न अख्तियारमा उजुरी दिएको थियो ।

