काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी परियोजना संसद्मा टेबल गर्ने र पास गराउने निर्णयमा पुगेका छन् ।
कांग्रेस उच्च स्रोतका अनुसार अब देउवा गठबन्धनका दल माओवादी केन्द्र र एकीकृत समाजवादीलाई साथै लिएर एमसीसी परियोजना पास गराउने गृहकार्यबाट पछि हट्न थालेका छन् ।
उनले रणनीति परिवर्तन गर्दै प्रमुख प्रतिपक्षी दल एमालेसँग मिलेर परियोजना पास गराउने तयारी गरेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवाले बुधबारको संसद् बैठकमै एमसीसी टेबल गर्ने तयारी गरेका थिए । यो विषयमा गठबन्धनमा रहेका मुख्य दल माओवादी केन्द्र र एकीकृत समाजवादीसँग पनि सहमति जुटेको थियो ।
सहमति बमोजिम देउवाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउन सहमत भएका थिए ।
तर, बुधबारको बैठकमा एमसीसी टेबल गरे गठबन्धन तोड्ने र सरकार छोड्ने माओवादी केन्द्रको संसदीय दलले निर्णय गरेपछि संसद् बैठकमा एमसीसी टेबल हुन सकेन ।
बुधबार संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुबाटारमा बैठक भयो र गठबन्धनमा आवद्ध सबै दलहरूबीच अन्तिम तथा निर्णायक छलफल गर्ने सहमति भयो । जसका कारण देउवाको चाहना अनुरुप एमसीसी टेबल हुन सकेन ।

