प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई राजीनामा गराउन सो पार्टीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । राजीनामा नगराए आफूले बर्खास्त गर्नेसम्मको अप्रिय कदम चाल्ने देउवाले चेतावनी दिएका छन् ।
सत्ता गठबन्धनको बैठकअघि प्रचण्डसँग एक्लाएक्लै भेट गरेका देउवाले प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीहरुलाई राजीनामा गराउन आग्रह गरेका हुन् ।
‘तपाईँले अहिलेसम्म पार्टीका मन्त्रीहरुलाई किन राजीनामा गर्न नलगाउनु भएको रु देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘राजीनामा गराउनु भएन भने बर्खास्तसम्मको अप्रिय कदम चाल्छु ।’
माओवादीले एमसीसी टेबल गर्न असहयोग गरेपछि देउवा आक्रोशित बन्द प्रचण्डलाई यस्तो बताएका हुन् । सो पछि बसेको गठबन्धन बैठक भनाभनमै सकिएको नेताहरुको भनाइ छ ।
बैठकमा गठबन्धनमा रहेका काँग्रेस बाहेकका दलहरुले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने धारणा राखेका थिए । तर देउवाले भने एमसीसी भोलि नै संसदमा टेबल गर्ने बताएका थिए ।
यसैबीच एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका छन् । बिहीबार राति देउवा बालकोट पुगेका हुन् ।

