प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । भेटपछि देउवाले नेपाली सेनालाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिर्एका छन् । मुलुकको पछिल्लो अवस्थाबारे सेनाको रिपोर्टिङ सुनेपछि प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।
केहीबेर अघि बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भएको भेटमा उक्त निर्देशन भएको बालुवाटार स्रोतले बताएको छ । नेपाली समाज एमसीसी सम्झौताको विपक्षमा देखिएपछि सम्भावित सुरक्षा प्रबन्धबारे पनि उहाँहरुबीच सँक्षिप्त कुराकानी भएको बुझिएको छ ।
बालुवाटार स्रोतका अनुसार मुलुकको पछिल्लो अवस्थासम्बन्धी सेनाको रिपोर्टिङ सुनेपछि प्रधानमन्त्रीले प्रधानसेनापतिलाई सेनालाई उच्च सतर्कताका साथ स्टाण्डबाई रहन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीसँग झण्डै २० मीनेट भेटेपछि शर्मा सवा ९ बजे त्यहाँबाट जंगी अड्डातर्फ लागेका छन् ।
अमेरिकी सहयोग परियोजना सम्झौता अनुमोदन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ। संघीय संसद सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबार सो प्रस्ताव पेस गर्न लागिएको हो ।
आइतबार बिहान बसेको पाँचदलीय गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव आइतबारकै प्रतिनिधिसभाको बैठकमा पेस गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।
केपी ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले ३० असार २०७६ मा संसद सचिवालयमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव दर्ता गरेका थिए ।
तत्कालीन सरकार नेतृत्वकर्ता दल नेकपाभित्र मतभेद हुँदै अन्य दलसहित नागरिकस्तरबाट पनि विरोध भएपछि संसद बैठकमा पेस हुन सकेको थिएन ।
२९ भदौ २०७४ मा एमसीसी सम्झौता भएको थियो ।

