आइतबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरु पूर्ववत् अवस्थामा वेल घेराउका लागि पुगे । उनीहरुले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसदमा विरोध सुरु गरे । नाराबाजी भइरह्यो ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले माओवादी नेता देव गुरुङलाई बोल्नका लागि छ मिनेटको समय दिए ।
प्रतिनिधिसभा सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नै माओवादीका ३ नेताले लिखित असहमति जनाइसकेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसिसी परियोजना टेबल गर्ने सहमति गरेपछि परामर्श समितिको बैठकमा उनीहरुले लिखित असहमति दर्ज गरेका थिए ।
गुरुङले कार्यव्यवस्था समितिमा पनि सोही कुराको जानकारी गराएको भन्दै आफ्नो पार्टी एमसिसीको पक्षमा नरहेको भन्दै ‘फेस सेभिङ’ गर्न भ्याए ।
त्यसपछि सभामुख सापकोटाले एमाले नेता भीमबहादुर रावललाई बोल्नका लागि समय दिए । रावलले एमसिसी राष्ट्रको पक्षमा नभएको भन्दै विरोध जनाए । उनले संसदको कुर्सीबाट उठेर आफ्नो धारणा राखिरहँदा उनले प्रतिनिधित्व गरेको पार्टी भने वेल घेराउ गरेर नाराबाजी गर्दै थियो ।
रावलले आफ्ना कुराहरु राखे र एमसिसी सम्झौता खारेजीको माग गरे । त्यसको केहीबेरपछि सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता टेबल गरे ।
उनले सम्झौता टेबल गरिरहँदा पनि एमालेका सांसदहरु वेल घेराउ र नाराबाजी गरिरहेका थिए । तर, सांसद रावल भने आफू बसेको ठाउँबाट उभिएर विरोध गर्न थाले ।
सभामुखको भूमिका र आफ्ना १४ जना सांसदको कारबाही सूची टाँस नगरेसम्म आफूहरु संसदीय कामकारबाहीमा सहभागी नहुने स्पष्ट बताइसकेको छ, एमालेले ।
फागुन १२ गतेका लागि बोलाइएको बैठकमा पनि आफ्नो सोही प्रदर्शन जारी रहने प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् । तर, रावलले भने आजै संसदीय व्यवस्थामा प्रवेश गरेको भन्दै एमालेभित्र उनीमाथि असन्तुष्टि बढेको छ ।
खासमा रावलले सभामुखसमक्ष बोल्नका लागि समय मागेको कुरा एमाले सांसदहरुलाई नै थाहा थिएन ।
प्रतिनिधिसभाको नवौं अधिवेशनबाट निरन्तर अवरोध गर्दै आएको एमालेले एमसिसीबारे आफ्नो धारणा संसदमा राख्ने कुनै तयारी गरेको पनि थिएन । तर, पार्टीमा आफ्नो असन्तुष्टि राखिरहने रावलले भने बोले ।

