नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीका विषयमा डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारमा पनि बस्ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गर्ने पार्टीहरूको डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिएका हुन् ।
उनले संसद्मा एमसीसी टेबल गर्ने ठाउँमा आइपुगेका पार्टीहरू मतदान गर्ने बेलासम्म सहमतिमा आइपुग्ने विश्वास व्यक्त गरे ।
उनले एमसीसीका विषयमा देव गुरुङ र झलनाथ खनालले विरोध गर्नुको कुनै अर्थ नरहेको पनि बताए ।
उनले भने, ‘केपी शर्मा ओलीको मन्त्रीपरिषद्ले पारित गरेको यो प्रस्ताव संसदमा पेस हुँदैछ ।
यो प्रस्ताव राष्ट्रघाति भन्ने हो भने सबैभन्दा पहिला भीम रावलले केपी शर्मा ओली राष्ट्रघाति मुर्दाबाद भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसी पेस गर्नेबेला सदनमा सहभागी हुनु सकारात्मक भएको उनको भनाइ थियो ।

