संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नुका साथै अन्यको पनि खारेजी हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् ।
पर्यटन विभागका अनुसार अहिलेसम्म १७ वटा कम्पनीले रोयल्टीबापत तिर्नुपर्ने बक्यौता रकम बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले पाँच करोड रुपैयाँमध्ये चार करोड बक्यौता बुझाएसँगै अहिलेसम्म सरकारको खातामा ७६ करोड ४५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए ।
उनले भने, ‘रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नू भन्ने मन्त्रीज्यूको आदेशपछि अहिले क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिर्दैछन्, करोडौँ रुपैयाँ जम्मा भएको छ ।’ उनका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकहरूले तिर्नुपर्ने जम्मा एक अर्ब ११ करोड ८४ लाख ४७ हजार रुपैयाँमात्रै रहेको छ ।
यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने काठमाण्डौको दरबाारमार्गमा रहेको होटेल याक एन्ड यतीको लाइसेन्स खारेस गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ ।
मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालको तीनपुस्ते विवरणसमेत सार्वजनिक गरेको छ । अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ ।
जसमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुई वटा होटलमा गरेर १४ करोड रुपैयाँ बाँकी रहेको र त्यो होटलको बैंक जमानत रहेकाले असुल गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए ।
यसैगरी सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख, ह्याप्पी आवर प्रालि, होटल याक एण्ड यती ९क्यासिनो रोयल०, रक इन्टरनेशनल, ओरियन्टल होटल्स समेत गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ ।
मन्त्री आले केही दिनअघि निकै तल्लो स्तरको गालीमा उत्रिएको अडियो सार्वजनिक भएपनि उनीबारेको विवाद सेलाएको छ ।

