नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसीको विपक्षमा उभिने बताएका छन् ।
संसदमा एमसीसी टेबल भएलगत्तै अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी र संसदीय दल एमसीसीका विपक्षमा उभिने बताएका हुन् ।
उनले भनेका छन्,‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
प्रचण्डले एमसीसी टेबल हुन नदिन विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध पनि गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब समयसीमाभित्रै एमसीसी बहुमतबाट अनुमोदन हुने बताए ।
‘सार्वभौम संसद्मा सघन छलफल हुन्छ, आजैबाट छलफल सुरु भइसकेको छ,’ कार्कीले कान्तिपुरसँग भने, ‘समयसीमाभित्रै यसलाई निष्कर्षमा पुर्याउने काम सरकारले गर्छ । पाँच वर्षभित्र यो आयोजनाले सबैको आशंकालाई मेट्ने गरी प्रतिफल दिन्छ ।’
प्रधानमन्त्री देउवा एमसीसीलाई संसद्मा लामो समय राखेर सडकमा तनाव बढ्ने दिने पक्षमा छैनन् । गठबन्धन दलमा कुरा मिलेमा देउवाले १२ गतेकै बैठकमा मतदान गराउन चाहेका छन् । कांग्रेस नेता मीनेन्द्र रिजालले आगामी बैठकमा एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुने दाबी गरे ।
‘पार्टी सरकारमा रहने र सडकमा भ्रातृ संस्थाहरूलाई सुरक्षाकर्मीमाथि ढुंगा हान्न लगाउने काम सत्ता गठबन्धनबाटै भएको छ,’ उनले भने, ‘अब धेरै गिजोल्ने काम स्वीकार्य हुन्न । १२ गते नै निर्णयार्थ लैजानुपर्छ । ढिलाइ गर्न हुन्न ।’
यस्तै, आफैले टेबल गर्न दिएर प्रचण्ड एकाएक एमसीसीको विपक्षमा उभिएपछि अमेरिका झस्किएको छ । उसले प्रचण्डमाथि पुराना जनयुद्धकालिन मुद्धामा कडा कदम चाल्ने चेतावनी दिएको स्रोतले जनाएको छ ।

