सत्तारुढ पाँच दलीय गठबन्धनबाटै अमेरिकी सहायता परियोजना एमसीसी पास गराउन कांग्रेस नेता रामचन्द्र पौडेल सक्रिय भएका छन्।
आइतवार संसदमा एमसीसीसम्बन्धी प्रस्ताव पेस भएपछि सत्तारुढ गठबन्धनको समन्वय समिति संयोजक पौडेलले सोमबारदेखि दौडधूप सुरु गरेका हुन्।
उनले एमसीसीलाई संसदमा टेबल गर्न दिएर पास गर्न तयार भइनसकेका गठबन्धनका सदस्य दलका नेताहरुसँग संवाद अघि बढाएका हुन्।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सकारात्मक भएपछि आइतवार एमसीसी संसदमा टेबल भइसकेको छ।
यस्तो अवस्थामा एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धन कायमै राखेर एमसीसी संसदबाट पास गर्ने योजनासहित पौडेलले राजनीतिक भेटघाट तीव्र पारेका हुन्।
पौडेलले सोमबार दिउँसो सिंहदरबारमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग संवाद गरिरहेका छन्। यादवसँग पौडेलले सत्ता गठबन्धनबाटै एमसीसी पास गराउनेबारे छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ।
त्यसपछि पौडेलले सोमबारै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि वार्ता गर्ने भएका छन्।
उनी एमसीसी पारितका लागि माहोल सिर्जना गर्न सक्रिय भएका हुन्। पौडेलले यही गठबन्धनले एमसीसी पारित गराएमा आगामी चुनावसम्म बचाएर लैजाने गरी संवाद गरिरहेका छन्।
एमसीसी टेबल भए पनि पास गर्ने कुरामा सहमति जनाउन नसकिने अडान माओवादी र एकीकृत समाजवादीले राखिरहेका छन्।
‘अहिले उहाँको दौडधुपको उद्धेश्य भनेको गठबन्धन जोगाएर अघि बढ्ने रहेको छु, उनको सचिवालयले भनेको छ, ‘सत्तारुढ गठबन्धनको समन्वय समितिका रुपमा उहाँले पौडेलले एमसीसी पनि पारित गर्दै गठबन्धन पनि जोगाउने उपायको खोजी थाल्नु भएको हो।’
एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रमक रहँदै आएका पौडेल आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनसम्मै गठबन्धन कायम गरेर लैजाने गरी नेताहरुसँग भेटघाटमा जुटेका हुन्।
उनले यदि यही गठबन्धनले एमसीसी पास गरिदिएमा गठबन्धन वैशाख ३० को स्थानीय तह निर्वाचन हुँदै संघीय र प्रदेशसभाको निर्वाचनसम्म जाने आँकलन गरेका छन्।
यस अघिबाटै पौडेलले गठबन्धन तीनै तहको निर्वाचनसम्म लगेर देशभरी तालमेल गर्नुपर्नेमा जोड दिइरहेका छन्।
गठबन्धन नजोगाए प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग मिल्ने संशय पौडेलमा देखिएको छ। उनीहरु मिले कांग्रेस अबको निर्वाचनमा पनि २०७४ कै जस्तो परिणाम भोग्न बाध्य हुने डरले उनलाई पिरोलेको छ। पौडेल आफैं पनि तनहुँमा पराजित भएका हुन्।
त्यहीकारण उनी अहिलेकै अवस्थामा प्रचण्डलाई ओलीसँग मिल्न नदिन गठबन्धन जोगाउनुपर्ने पक्षमा सक्रिय भएका उनीनिकट एक नेताले बताएका छन्।

