अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा नेकपा माओवादी केन्द्र विभाजित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति जनाए पनि प्रभावशाली नेता नारायणकाजी श्रेष्ठदेखि प्रमुख सचेतक देव गुरुङसम्म विपक्षमा उत्रिए।
माओवादीबाट अर्थमन्त्री रहेका जनार्दन शर्मा एमसीसी टेबल गर्न अस्वीकार गर्दै अनुपस्थित रहे। सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले कार्यव्यवस्था समितिकै टेबल नगर्न सभामुखसँग माग गरे। तर प्रचण्डले गठबन्धनमा गरेको सहमतिअनुसार सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा राख्दै टेबल गर्न दिए।
संसदमा टेबल गर्दा अनौठो दृश्य देखियो। एमसीसीमा माओवादी पार्टीमात्र होइन प्रचण्डको परिवार नै विभाजित देखियो।
सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न दिने सहमति जनाएर प्रचण्ड संसद बैठकमा चुपचाप बसेर समर्थन जनाइरहँदा हलको बीचको सिट रहोवरमा रहेकी प्रचण्डकी बुहारी बिना मगर भने हात उठाएर नाराबाजी गरिरहेकी थिइन्।
सञ्चारमन्त्री कार्कीले सडक र विद्युतीय प्रसारण लाइन परियोजना एमसीसी सम्झौता टेबल गर्दा ससुरा अगाडि बसेर समर्थन जनाइरहेका थिए भने बिना मगर पछाडि उठेर नाराबाजी गरिरहेकी थिइन्।
बिनासँगै माओवादी महिला सांसदहरु यशोदा गुरुङ, अमृता थापामगर, रेखा शर्मा पनि उठेर नाराबाजी गरिरहेका थिए। संसदमा एक दर्जन बढी माओवादी सांसदहरु उठेर राष्ट्रघाति भन्दै नाराबाजी गरेका थिए।

