प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ ।
केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ ।
सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की, आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु विक, अर्जन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विक रहेका छन् ।

प्रहरीमा एसपीहरुको सरुवास् रुपन्देहीमा रविन्द्र रेग्मी, गुल्मीमा भिम दाहाल
प्रहरी प्रधान कार्यालयले सात जिल्लाका प्रमुखसहित १९ एसपीहरुको सरुवा गरेको छ ।
आइतबार राती प्रकाशित सरुवा सुचीअनुसार रुपन्देही प्रहरी प्रमुखमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागका एसपी रविन्द्र रेग्मीको सरुवा भएको छ।
गुल्मी प्रहरी प्रमुखमा एसपी भिम दाहाललाई खटाइएको छ भने सिन्धुलीमा हेटौंडा गणमा कार्यरत एसपी बिमलराज कंडेलको सरुवा भएको छ ।
त्यस्तै गोरखामा केदार खनाल, बागलुङमा दयानिधी ज्ञवाली, धनकुटामा लक्ष्मीराज अधिकारी र डोटीमा शारदाप्रसाद चौधरीलाई पठाइएको छ ।

