नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्डसँग भेटघाट र छलफल गर्न उनी बिहान ९ बजे खुमलटार पुगेका हुन् ।
झण्डै एक घण्टासम्म भएको भेटवार्तामा समसामयिक विषय, मुलुकको राजनीति, एमसीसी सम्झौतामा संसदवादी दलको भूमिकालगायतका विषयमा छलफल भएको बुझिएको छ ।
संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएको र संसदको बैठक बस्नु दुई दिनअघि किरणले प्रचण्डसँग भेट गर्नुलाई अर्थपूर्ण ठानिएको छ ।
भेटमा वैद्यले अमेरिकी सहायता परियोजना एमसीसीबारे चासो राखेका थिए। संशोधनबिना एमसीसी टेबल कसरी भयो भन्नेबारे उनले जिज्ञासा राखेको वैद्यको सचिवालयले जनाएको छ।
एमसीसी राष्ट्रको हितमा नभएकोले पारित गर्न नहुने धारणा उनले राखेका थिए। जवाफमा अध्यक्ष प्रचण्डले एमसीसी संसदमा टेबल भए पनि मतदान नगर्ने बताएका थिए। उनले भने, ‘एमसीसी टेबल नगर्ने भन्दा भन्दै टेबल गरे। अब भोट हाल्दैनौं भनेका छौं।’
वैद्यको पार्टी एमसीसी खारेज गनुपर्ने पक्षमा छ। भेटमा वैद्यले एमसीसी विरुद्धको प्रदर्शनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहा गर्न पनि प्रचण्डसँग अनुरोध गरेका थिए।
(क्रान्तिकारी) माओवादीका नेताद्वय बसन्त बोगटी र सुनिता बुढाथोकी प्रहरी हिरासतमा छन्। वैद्यले विज्ञप्ति जारी गरेर कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरेका छन्।
वैद्यले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘अमेरिकी साम्राज्यवादलाई खुसी पार्न गरिएको यस प्रकारको अनैतिक र पूर्वाग्रही कामको हाम्रो पार्टी घोर निन्दा तथा भर्त्सना गर्दछ र उहाँहरूमाथि लगाइएका झुट्टा मुद्दाको खारेजी गरी उहाँहरूको अविलम्ब एवं निशर्त रिहाइका लागि जोडदार माग गर्दछ।’

