पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई एमसिसी फिर्ता लैजान आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै गौतमले दुई देशबीचको प्रगाढ सम्बन्धलाई निरन्तरता दिन पनि सहयोग फिर्ता लैजानुपर्ने तर्क गरेका छन् ।
‘अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनतामै गम्भीर आँच पुग्ने गरी एकीकृत नेपालको उदयदेखि आजसम्म अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिको समेत धज्जी उडाउने गरी अमेरिकी सहयोगमा नेपालको अभूतपूर्व विकास गर्ने हल्ला मच्चाउँदै एमसिसी परियोजना ल्याइएको छ ।
के विकासको नाममा नेपालको राष्ट्रिय प्रतिष्ठा, स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि खेलबाड गर्न पाइन्छ रु’ वक्तव्यमा छ, ‘सरकारले यसको जवाफ नेपाली जनतालाई स्पष्ट बुझ्ने गरी दिनुपर्छ ।’
ओली–अमेरिकी राजदूतबीच छलफल
एमाले अध्यक्ष केपी ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच मंगलबार एमसिसीका विषयमा छलफल भएको छ । बालकोटस्थित निवासमा राजदूतसँगको भेटपछि ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए ।
एमसिसी संसद्बाट पास हुने सुनिश्चितता नदेखिएको पृष्ठभूमिमा ओलीसँग बेरीको भेटलाई महत्वका साथ हेरिएको छ ।
प्रचण्डले वैद्यसँग भने– ‘यथास्थितिमा एमसिसी पास हुँदैन’
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले एमसिसी राष्ट्रघाती रहेको भन्दै पास नगर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।
मंगलबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका उनले एमसिसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसद्मा टेबुल गरेकोमा जिज्ञासा राखेका थिए । प्रचण्डले भने गठबन्धनमा सहमति भएर नै एमसिसी टेबुल भएको, तर परिमार्जनविना पास नगर्ने जवाफ दिएका छन् ।

