नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ ।
उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ ।’
नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएका छन् । तर, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्ष छन् । जसले गर्दा सत्ता गठबन्धनमा तिव्र मतभेद देखिएको छ ।
प्रचण्डले पुरानै सत्ता भनेर केपी शर्मा ओली नेतृत्वलाई लक्षित गरेर अभिव्यक्ति दिएका हु्न् ।
लोसपाले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ ।
बुधबार केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
एमसीसी विकासका लागि ल्याइएको परियोजना भएकाले अस्वीकार गर्नुपर्ने कारण नरहेको लोसपाको धारणा रहेको छ । एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन्छ भन्ने मान्यताकासाथ एमसीसीको पक्षमा मतदान गर्ने भन्ने निर्णय गरिएको नेताहरुले बताएका छन् ।
सरकारले एमसीसी सम्झौता अनुमोदनका गत आइतबारको प्रतिनिधिसभा बैठकमा पेस गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकले उक्त प्रस्तावलाई टुंगो लगाउने तयारी रहेको छ ।

