पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट वार्ता भएको छ।
सिंहदरबारमा पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्रीले बोलाएकाले प्रचण्ड बालुवाटार गएको एक नेताले बताए। अध्यक्ष प्रचण्ड संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताका विषयमा छलफल बालुवाटार पुगेका हुन्।
सरकारले यही फागनु ८ गते बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको थियो । आजदेखि बैठकमा छलफल हुनेछ।
प्रचण्डनिकट स्रोतले बैठक सकेर प्रचण्ड खुमलटार फर्केको, देउवा र प्रचण्ड दुवै आ–आफ्नै अडानमा यथावत रहेको जानकारी दियो।
‘यसपछिको स्थिति के हुन्छ, यसै भन्न सकिन्न’, प्रचण्डनिकट स्रोतले भन्यो। सअघि प्रचण्डले एमसीसी पास हुने अवस्था आएमा आफूहरु विपक्षमा उभिने र सरकारबाट पनि बाहिरिन सक्ने चेतावनी दिएका थिए ।
धेरैले आजै एमसीसी अघि बढ्ने र प्रचण्डको पार्टी सरकारबाट बाहिरिने आँकलन गरेका छन् ।

