नेकपा एकीकृत समाजवादी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् ।
काठमाडौंमा बुधबार सम्पन्न एकीकृत समाजवादी निकट विभिन्न २२ वटा संगठनहरुको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली संसद भवनमै छलफलमा जुटेका छन् । प्रतिनिधिसभाको बैठक स्थगित भएपछि देउवा र ओली छलफलमा जुटेका हुन् ।
स्रोतका अनुसार बानेश्वरस्थित संसद् भवनमा अहिले प्रधानमन्त्री देउवा र ओलीबीच छलफल चलिरहेको छ। संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मसीसीसँगको सम्झौता संसद्बाट पारित गराउन सहयोग गर्न नसकिने बताएपछि प्रधानमन्त्री देउवाले एमाले सांसद्सँग छलफल चलाएका हुन् ।
प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

