संसद बैठक स्थगित गराएर एमसिसीबारे सहमति जुटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा जुटेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार सरकारकै आग्रहमा आजको बैठक स्थगित भएको हो ।
गत आइतबार संसदमा टेबल भएको एमसिसी सम्झौताको सैद्धान्तिक छलफलका क्रममा सरकार ‘अल्पमत’मा पुग्ने भएपछि आजको बैठक स्थगित गरिएको स्रोतको दाबी छ ।
अहिलेसम्म नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी एमसिसी पारित गर्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह एमसिसीको विपक्षमा उभिएका छन् ।
एमालेले भने संसदीय प्रक्रियामा नै भाग लिएको छैन । यही अवस्थामा प्रतिनिधिसभामा एमसिसीबारे छलफल अघि बढाउँदै गर्दा सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि बैठक स्थगित भएको माओवादी निकट नेताले बताएका छन् ।
सत्तारुढ दल नेकपा एमालेले सत्तारुढ गठबन्धनको आन्तरिक विवादका कारण अचानक संसद बैठक स्थगित भएको टिप्पणी गरेको छ ।
संसद बैठकबाट बाहिरिँदै गर्दा एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अचानक रुपमा सत्तारुढ गठबन्धनको विवादका कारण स्थगित भयो । हामी लामो समयदेखि वेल घेराउमा छौं ।’
साथै, उनले अहिले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको बताए । उनले दुई नेताबीच भएको छलफलको चुरो कुरोबारे आफूलाई थाहा नभएको बताए ।
‘हाम्रा पार्टीका अध्यक्षलाई संवादका लागि बोलाउनुभयो । अहिले कुराकानी भइरहेको छ ।’ सचेतक भट्टराईले भने, ‘उहाँहरुबीच भएको कुराकानी जानकारी छैन ।’
यदी २८ असारमा बनेको अप्राकृतिक सरकार चल्नै नसक्ने स्थिति हो भने कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भइरहेको बताए । एमाले ०७४ सालको जनादेशविपरित एमाले सत्ताबाहिर रहेको भन्दै अहिले सभामुख अग्निप्रसाद सापकोटाले गरेको अन्यायका कारण आफूहरु आन्दोलनमा रहेको उनले बताए ।
‘अप्रकृतिक हिसाबको गठबन्धन रहेन भने कसरी अघि बढ्ने भन्ने एमालेले निर्णय गर्छ ।’ उनले भने, ‘शिघ्र निर्वाचन गरेर नयाँ जनादेशमा देशलाई लान एमाले चाहन्छ ।’ एमाले कुनै हालतमा मुलुकका विरुद्धमा नजाने बताए ।
गठबन्धनमा साझा धारणा नआएको भन्दै उनले अन्य दलको आधाकारिक धारणा नआएको जस्तो देखिएको बताए । ‘गठबन्धनको स्पष्ट दृष्टिकोण आएसकेपछि र संसदमा हामीले उठाएको मागमा कसरी सम्बोधन हुन्छ भन्ने भएपछि एमालेले निर्णय लिन्छ ।’ उनले भने ।
नेपाली कांग्रेसका नेता एवं सत्तारुढ गठबन्धनको राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुट्न सक्ने संकेत गरेका छन् ।
बिहीबार गृह जिल्ला तनहुँ पुगेका पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन असफल पनि बनाउने र गठबन्धन पनि कायम राख्ने सपना नदेख्न सत्तासाझेदार दललाई चेतावनी दिएका छन् ।
राष्ट्र विकासको महत्वपूर्ण विषयमा साथ नदिएपछि गठबन्धनमा टाँसिएर बस्नुको औचित्य नभएको पौडेलको भनाइ छ ।
यस्तै, उनले एमसीसी संसदबाट अनुमोदन गराउन एमाले अध्यक्ष केपी शर्मा ओली भाग्न नमिल्ने पनि बताएका छन् । बरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा समर्थन नजनाए पनि केपी ओली भने एमसीसीको पक्षमा रहनु पर्ने पौडेलको जोड छ ।
एमालेले एमसीसी संसदमा दर्ता गराएकोले अहिले अनुमोदन गर्ने बेला भाग्न नमिल्ने पौडेलले बताए ।

