बिहीबार संसद बैठक स्थगित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा प्रचण्डले ओलीसँग जारी संसद अवरोध हटाउन र एमसिसीलाई अस्वीकृत गर्न प्रस्ताव गरेका छन् ।
यतिमात्र होइन, उनले ओलीलाई फेरि प्रधानमन्त्री बन्नसमेत अफर गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिएको जानकारीअनुसार प्रचण्डले आफूहरुले माओवादी केन्द्रसँग मिलेर भूल गरेको बताएका छन् ।
प्रचण्डले संसद बैठकमा अवरोध अन्त्य गर्न गरेको आग्रहमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहिँ आफूहरुले माग सम्बोधन नभएसम्म सदनमा विरोध कायम राख्ने बताएका छन् ।
माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले २३ भदौदेखि संसदमा विरोध जनाउँदै आएको छ ।
प्रचण्डसँगको यो भेटअघि ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । माओवादी केन्द्रले एमसिसीको विपक्षमा मतदान गर्ने भए पछि प्रधानमन्त्री देउवाले गठबन्धन छाडेर एमालेसँगको सहकार्यमा एमसिसी पारित गर्ने योजना बनाएका छन् ।
देउवा र ओलीबीच निर्णायक वार्ता केही समयमा सुरु हुँदैछ ।
संसदीय दलका उपनेता सुवास नेम्वाङले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीनवटा विषयमा केन्द्रीत भएर छलफल भएको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच नयाँ बानेश्वरस्थित संसद भवनमा छुट्टाछुट्टै वार्ता गरेका थिए ।
भेटवार्तामा राष्ट्रिय सन्दर्भ, एमसिसी र संसदको गतिरोध अन्त्यका विषयमा व्यापक छलफल भएको उनले बताए । ‘नेताजीहरू छुट्टाछुट्टै र हामीहरूबीच बसेर वार्ता भयो । एमसिसीका बारेमा, राष्ट्रिय सन्दर्भमा र संसदको गतिरोध अन्त्यका सन्दर्भमा व्यापक छलफल भयो,’ उनले भने ।
उनले माओवादी अध्यक्ष प्रचण्डसँग सकारात्मक छलफल भएको बताए । उनले त्यसलाई निरन्तर अगाडि बढाउने सल्लाह भएको पनि सुनाए । तर, के छलफल भएको भने उनले खुलाएनन् ।
‘प्रचण्डहरूसँग सकारात्मक रूपमा छलफल भएको छ । त्यसलाई निरन्तर अगाडि बढाउने सल्लाह भएको छ,’ उनले भने ।
उनले प्रधानमन्त्री देउवासँग बालुवाटारमा थप छलफल हुने बताए । उनले दिउँसोको छलफलपछि बेलुका सात बजे बालुवाटारमा बसेर छलफल गर्ने निष्कर्षअनुसार आफूहरू बालुवाटार जान लागेको बताए ।
‘प्रधानमन्त्रीसँग राम्रो छलफल भयो, निष्कर्षमा सात बजे फेरि बालुवाटारमा भेट्ने, दुई जना त्यहीँ छलफल गरौँ भन्ने भयो । अहिले हामीहरू त्यहीँ जान निस्किएका छौँ’ उनले भने ।

