बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस र एमालेबीच भएको छलफल सकिएको छ । छलफलमा एमसीसी सम्झौता अनुमोदन र संसदको अवरोध अन्त्यबारे मोटामोटी सहमति भएको बुझिएको छ ।
छलफलमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा,उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी रहेको बताइन्छ ।
यता एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल थिए । महासचिव शंकर पोखरेल झण्डै एक घण्टापछि बालुवाटार पुगेका हुन् ।
यसअघि दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा पनि एमालेका तर्फबाट पोखरेलबाहेकका नेताहरु सहभागी थिए । अहिले साँझ अध्यक्षले तीन जना उपाध्यक्ष र रातारात भैरहवाबाट बोलाइएका महासचिव शंकर पोखरेललाई साक्षी राखेर काँग्रेससँग लिखित सहमति गरेको हुनसक्ने अड्कल गरिएको छ ।
एमाले लुम्बिनी प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा भाग लिन बुटवल पुगेका महासचिव शंकर पोखरेललाई तत्काल काठमाडौं आउन खबर गरेपछि उहाँ केही बेरअघि राजधानी आइपुगेका हुन् । महासचिव विमानस्थलबाट सोझै बालुवाटार पुगेपछि काँग्रेस र एमालेबीच केही गोप्य सहमति भएको बताइन्छ ।
सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच छलफल सकारात्मक
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनसंसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
उहाँहरुबीच एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्ने, संसद्को अवरोध हटाउनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रिय महत्वको विषय भएको र यस सम्बन्धमा आफ्नो पार्टीले सत्ता रहँदा होस् वा प्रतिपक्षमा रहँदा एउटै धारणा राख्दै आएको उल्लेख गर्दै यसलाई अन्यथा विषय नबनाउन आग्रह गर्नुभएको थियो ।
महामन्त्री थापाका अनुसार प्रधानमन्त्री देउवाले नेपाल सरकारले सम्झौता गरी अनुमोदन गर्ने जनाइसकेपछि अन्यथा कुरा गर्दा मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गुम्ने चिन्ता व्यक्त गर्दै यस सम्बन्धमा एमाले पनि स्पष्ट छ भन्ने आफ्नो धारणा रहेको बताउनुभएको थियो ।
साथै प्रधानमन्त्री देउवाले नेपालको संविधान जारी गर्दा पनि कांग्रेस र एमाले एउटै ठाउँमा उभिएको स्मरण गराउनुभएको थियो । बैठकमा एमाले अध्यक्ष ओलीले सो सम्बन्धमा आफूहरु सकारात्मक रहेको उल्लेख गर्दै सँगै उभिने कुरामा आफूहरु संसदीय प्रक्रियामा सहभागी हुन नसकिरहेको र त्यसका लागि सरकारले वातावरण बनाउनुपर्नेमा आग्रह गर्नुभएको थियो ।
सो सम्बन्धमा सरकारले कसरी वातावरण बनाउने भन्ने सन्दर्भमा सकारात्मक छलफल भएको र आज २०७८ फागुन १३ गते पुनः बस्ने गरी बैठक सम्पन्न भएको महामन्त्री थापाले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी हुनुहुन्छ ।
यसअघि हिजै प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच संसद् भवन नयाँबानेश्वरमा पनि ‘वान टु वान’ र शीर्ष नेताको तहमा छलफल भएको थियो ।
संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र पार्नुभएको छ ।

