नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि सहज हुने गरी आफ्नो दलले संसद बैठक बहिस्कार गरेर नहिड्ने दाबी गरेका छन् ।
एमसीसीबारे एकीकृत समाजवादी पार्टीसम्वद्ध भ्रातृ संगठनले गरेको कार्यक्रममा श्रेष्ठले आफूहरू यथास्थितिमा एमसीसी अस्वीकार गर्न लागिपरेको बताए । मतदानको बेलामा संसदको बैठकमा अनुपस्थित भएर वा बैठक बहिस्कार गरेर एमसीसी पारित गर्न सहयोग गर्ने कुनै सहमति नभएको दाबी गर्दै उनले विपक्षमा मत दिने बताए ।
उनले अघि भने, ‘हाम्रो पार्टी विपक्षमा मतदान गर्छ । जुन पार्टी र नेताले संसदमा अनुपस्थित भएर वा बहिस्कार गरेर पारित गर्न सहयोग गर्छ, म त्यसविरुद्ध उभिने छु ।’
यता, एमालेमा भीम रावल एमसीसीको विरुद्धमा सुरुदेखि नै आवाज उठाइरहेका छन् । उनले पार्टीले मतदानका लागि ह्वाीप लगाए आफू पार्टीबाटै बाहिरिने बताएका छन् । यसरी माओवादीमा पनि भीम रावल प्रवृति देखिएको टिप्पणी गर्न थालिएको छ ।

