प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठनै नसक्नेगरी पछार्ने चेतावनी दिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमती, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरुलाई एकमुष्टरुपमा उठनै नसक्नेगरी पछार्ने बताएका हुन्।
शुक्रबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले सत्तारुढ गठबन्धन आगामी निर्वाचनमा धुलोपिठो हुने भयले पनि नटुटने तर्क गरे।
एमालेले गठबन्धन दलहरुसँग वान बाई वान लडनु भन्दा एकमुष्ट लड्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पाँच वटै दललाई एकमुष्ट रुपमा चुनावमा लडन चुनौति दिए। उनले आफ्नो दल जनताको पवित्र मतबाट विजयी हुने दावी समेत गरे।
अध्यक्ष ओलीले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताए। एक सय ६५ भोट सरकारसँग छ, एमसीसी पास गर्न कस्ले रोकेको छ? उनको सत्तारुढ दलप्रति प्रश्न थियो।
ओलीले एमसीसीप्रति संकेत गर्दै आफ्नो पार्टीले देश र जनताको हितभन्दा बाहिर गएर कुनै पनि निर्णय नलिने स्पष्ट पारे। उनले पुतलीको कथा उर्धृत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दोहोरो चरित्र देखाईरहेको आरोप लगाए।
अध्यक्ष ओलीले भन्नु भयो, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन्। अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन्। यो मान्छे हो कि पुतली हो?
कुन सहि हो, कुन गलत हो?’ आजको नागरिक दैनिकमा यो समाचार छ ।

