संसद बैठक स्थगित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
बिहीबार बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा प्रचण्डले ओलीसँग जारी संसद अवरोध हटाउन र एमसिसीलाई अस्वीकृत गर्न प्रस्ताव गरेका छन् ।
यतिमात्र होइन, उनले ओलीलाई फेरि प्रधानमन्त्री बन्नसमेत अफर गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिएको जानकारीअनुसार प्रचण्डले आफूहरुले माओवादी केन्द्रसँग मिलेर भूल गरेको बताएका छन् ।
प्रचण्डले संसद बैठकमा अवरोध अन्त्य गर्न गरेको आग्रहमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहिँ आफूहरुले माग सम्बोधन नभएसम्म सदनमा विरोध कायम राख्ने बताएका छन् ।
माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले २३ भदौदेखि संसदमा विरोध जनाउँदै आएको छ ।
प्रचण्डसँगको यो भेटअघि ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । माओवादी केन्द्रले एमसिसीको विपक्षमा मतदान गर्ने भए पछि प्रधानमन्त्री देउवाले गठबन्धन छाडेर एमालेसँगको सहकार्यमा एमसिसी पारित गर्ने योजना बनाएका छन् ।

