प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसद्को आजकै दोस्रो बैठकले एमसीसी पारित गर्ने निर्णय गरेको छ । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आजै पारित गर्न नहुने प्रस्ताव राखेको एक नेताले बताए।
‘पार्टीमा थप छलफल गर्नुपर्छ भन्ने उहाँको प्रस्ताव थियो’, ती नेताले जानकारी दिए।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भने माधव नेपाललको प्रस्तावलाई अस्वीकार गरेका थिए। ‘प्रधानमन्त्रीजीले अब ढिलाइ गर्न हुन्न भनेपछि आजै पारित गर्ने निर्णय भयो’, उनले जानकारी दिए
तर, सत्ता गठबन्धन आबद्ध दलहरु व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न सहमत भएपछि आजैको बैठकले एमसीसी पारित गर्न लागेको हो।
प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
२०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको सो सम्झौता गत फागुन ८ गते प्रतिनिधि सभामा टेबल भएको थियो। तर, पास गर्नका लागि स्पष्ट बहुमत जुट्न नसक्दा त्यसयता अन्योल बढेको थियो।
एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय
नेकपा माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गर्ने निर्णय गरेको हो ।
माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । यसअघि विपक्षमा उभिँदै आएको माओवादी केन्द्र पनि अन्ततः पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो ।
शुरुमा एमसीसी संसदमा टेबुल हुनै नदिने भनेको माओवादीले आफ्नो अडान छोड्दै ‘व्याख्यात्मक टिप्पणी’को आवरणमा एमसीसी पास गर्ने निर्णय लिएको सन्दर्भमाथि सामाजिक सञ्जालमा रोचक घोचक ब्यंग्यात्मक टीकाटिप्पणी भएका छन् ।

