पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जनाको पद जोगाउन एमसीसीको पक्षमा उभिएको बताएका छन् ।
माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई कन्भिन्स गर्दै अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनको विपक्षमा उभिँदा एमाले र कांग्रेस मिलेर सभामुख अग्नि सापकोटालाई हटाउने तथा माधव नेपालसहित १४ सांसदको पद खारेज हुने भएकाले व्याख्यात्मक टिप्पणीसहित अनुमोदनको निर्णय गरिएको बताएका हुन् ।
उनले गठबन्धन र संविधान जोगाउन एमसीसी पास गर्ने निर्णय भएकाले यसलाई गलत अर्थमा नबुझ्न आग्रह गरे । ‘तपाईंहरूले देखिहाल्नुभयो गठबन्धन भत्काउन केपी ओलीले कति अग्रसरता देखाए ।
बालकोट र बालुवाटारको उठबस बाक्लियो । यसबाट हामीले संघर्ष गरेर बनाएको प्रतिगमनविरोधी गठबन्धन भत्किने, संविधान संकटमा पर्ने र केपी ओली फेरि हाबी हुने भएपछि हामीले एमसीसीको पक्षमा उभिने निर्णय गर्यौं,’ प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक सांसदले भने ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने लाइनमा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सहमति निर्णय गरेको छ ।
आज बसेको एसको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणालाई समर्थन जनाउँदै एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो ।
बिहान बसेको गठबन्धनको सहमति अनुसार एसले एमसीसीका बारेमा निर्णय लिएको एसकी नेतृ समेत रहेकी मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
यसअघि माओवादी केन्द्रले पनि एकीकृत पनि एमसीसीका विषयमा व्याख्यात्मक टिप्पणीसहित पक्षमा उभिने निर्णय गरेको थियो । त्यसलगत्तै बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीलाई अनुसरण गरेर एमसीसी पास गर्नुपर्ने पक्षमा देखिएको थियो ।

