अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको कंँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।
आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक राखेर अनुमोदन गर्ने निणर्य भएको नेता पौडेलले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । ‘
आजको बैठकबाट एमसीसी संसद्बाट अनुमोदन हुन्छ । प्रमुख प्रतिपक्ष दलको पनि सकारात्मक भूमिका हुन्छ’, उनले भने ।
नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारियो, २२ सय बढी प्रहरी परिचालन
सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने निणर्य गरेसँगै नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नयाँ बानेश्वर र आसपासका क्षेत्रमा २२ सय बढी प्रहरी परिचालन गरिएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटिएको छ । एमसीसीविरुद्ध प्रदर्शन गर्दै आएका विभिन्न समूहलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
आज पनि विभिन्न पार्टीनिकट युवा समूहले एमसीसीविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन् । बानेश्वर र बिजुलीबजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत हुँदै आएको छ । एमसीसी संसदमा टेबल भइसकेको छ ।
प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।

