पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो ।
प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको पनि स्वामित्व हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल अगाडि बढाइएको बताए ।
अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वीकृति दिएपछि शेयर निष्कासन गरिने उनको भनाइ छ ।
‘सर्वसाधारणलाई शेयर निष्कासन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको छ,’ उनले भने, ‘आवश्यक प्रक्रिया पूरा भएपछि शेयर निष्कासन गर्नेछौं ।’
सरकारको स्वीकृतिमा नेपाल विद्युत् प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई शेयर जारी गरिने उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा करिब ६ अर्ब नाफा कमाएको प्राधिकरणले चाल्ू आर्थिक वर्षको ६ महिनामा नै १२ भन्दा बढी नाफा कमाएको हो।
विद्युत् चुहावट नियन्त्रण, भारतर्फ विद्युत निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण उल्लेख्य नाफा भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
घिसिङले भने, ‘संचालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो।’ नाफालाई १५ अर्ब कटाउने गरी काम गर्ने घिसिङले बताए।
यस्तै, ६ महिनामा विद्युत् चुहावट १४।४५ प्रतिशतमा झरेको छ। नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणको अभियानका कारण चुहावट नियन्त्रणोन्मुख भएको बताइएको छ।
समीक्षा अवधिमा १७।१८ प्रतिशतको विद्युत् चुहावट थियो। प्रणालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ। यस अवधिमा वितरणतर्फको चुहावट ९।२३ प्रतिशत छ। प्राधिकरणले चालू आवमा विद्युत् चुहावट १५।५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।
प्राधिकरणले चालु वर्षको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश स् विद्युत् बिक्री र खरिदमा हुने गरेको छ।
प्राधिकरणको विदेशी दातृ निकायहरूको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।
नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ।
प्राधिकरणको पुँजीकृत सम्पत्ति १ खर्ब ६५ अर्ब, पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्ब ५२ अर्ब, सहायक कम्पनीहरूमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रहेको छ। तरल पुँजी ८५ अर्ब १ करोड रहेको छ।

