विभिन्न ८ दलले आज फागुन १६ गते नेपाल बन्द गरेका छन् । प्रतिनिधिसभा बैठकले संसदबाट एमसीसी अनुमोदन गरेसँगै विभिन्न दलहरुले सोमबार नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।
फागुन १५ गते ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । विभिन्न ८ दलले संयुक्त विज्ञप्ति जारी गर्दै फागुन १५ गते बेलुका देशव्यापी मशाल जुलुस गर्ने र फागुन १६ गते नेपाल बन्द गर्ने जनाएका हुन् ।
‘नेपालका कान्तिकारी, देशभक्त, प्रगतिशिल राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मुर्खता गरिरहेको छ ।
यसको विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष संचालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकोले विषयको यही संवेदनशिलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनसंघर्षको कार्यक्रम घोषणा गरेका छौं ।
यसलाई पुरै तागतका साथ सफल पार्न देशभक्त, बामपन्थी, प्रगतिशिल, सच्चा लोकतन्त्रवादीहरु लगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौ । साथै आज एमसीसी विरुद्धको आन्दोलनमा घाईते सम्पुर्ण देशभक्त योद्धाहरुको स्वास्थ्यलाभको कामना गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ।
बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।

