पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए आफ्नो नागरिकता खारेज गर्न चुनौती दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए थानकोट कटाउन, नागरिकता खोस्न र सम्पत्ति खोस्न चुनौती दिए ।
नेकपा एमालेका नेता भीम रावलले एमसीसीका विषयमा भ्रम छरेको भन्दै थापाले पाँच वर्षपछि एमसीसी सम्झौता सकिँदा अमेरिकी सेना नआएमा आफूले जस्तै चुनौती स्वीकार्न तयार हो भनी प्रश्न गरेका छन् ।
के भने गगनले ?
यसलाई राष्ट्घाती भनिएको छ । यो सम्झौताका कारण स्वाधीनता तलमाथि हुन्छ भनिएको छ । कहिँ कतै तलमाथि भयो भने नेपालले जे व्यहोर्छ म हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिन ।
त्यस्तो भयो भने म काठमाडौंको सांसद हुँ । थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटा मोडियोस् । सम्पत्ति विवरण बुझाएको छु सम्पत्ति खोसियोस् ।
माननीयज्यूहरु तयार हो ?
यदि आज जनतालाई भनेको कुरा सेना आउँछ, स्वाधीनता लुटिन्छ, सम्पत्ति अरुले लिएर जान्छ अमेरिकी कानुन लागू हुन्छ भनेको कुरा पाँच वर्षमा सम्झौता सकिँदै गर्दा भएन भने त्यो कुरा गर्न तयार हो । तयार हो भने यो पनि चुनौती हो ।
राष्ट्रवाद र देशभक्तिको फरक भनेको नक्कली राष्ट्रवादी आफ्नो नारामा मान्छेलाई मर्नका लागि उचाल्छ, मार्न तयार हुन्छ ।
म देशभक्त हुँ मर्न तयार हुन्छु । नक्कली राष्ट्रवादी र देशभक्तको फरक नेपाली जनताले थाहा पाउँछन्, थाहा पाउनुपर्छ संसदबाट पनि थाहा पाउनुपर्छ । सडकबाट पनि थाहा पाउनुपर्छ ।
व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्छ
थापाले एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्ने बताएका छन् ।
आइतबार एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा भएको छलफलमा उनले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्षले ती टिप्पणीहरु पनि मान्नुपर्ने बताएका हुन् ।
छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी केन्द्रका देव गुरुङ, राप्रपाका राजेन्द्रलिङ्देन लगायतका सांसदले व्याख्यात्मक टिप्पणी सांसदलाई झुक्याउने खेल भन्दै अमेरिकाले त्यसलाई मान्छ भनी प्रश्न गरेका थिए ।
एमसीसी छलफलमा भाग लिँदै कांग्रेस सांसद थापाले व्याख्यात्मक टिप्पणी अमेरिकाले नमाने सम्झौता अघि नबढ्ने बताए ।
‘त्यो ९व्याख्यात्मक टिप्पणी० समेत राखेर हामी दफाबार छलफल गर्छौं । त्यो अमेरिकाले मान्छ कि मानदैन रु नमाने सन्धि अगाडि बढ्दैन’ उनले भने, ‘पारित गरेको व्याख्यात्मक घोषणा पनि सम्झौता सँगसँगै जान्छ । ‘उसले चित्त बुझाएपछि मात्र, ठीक छ भन्ने लागेपछि मा सन्धि अगाडि जाने हो ।’
संसदले एमसीसी सम्झौताबारे व्याख्यात्मक टिप्पणी गर्दा सांसदहरु हिनतावोधले ग्रस्त हुनु नपर्ने पनि थापाले बताए ।
अब एमसीसीबारे सडकका जनतालाई विश्वस्त पार्ने दायित्व सबै नेताहरुको भएको उनको भनाइ छ ।

