एक जना पूर्व प्रधानमन्त्रीसहितका केही शक्तिशाली नेताहरु नयाँ दलको तयारीमा जुटेका छन् । प्रतिनिधि सभाबाट २०७८ फागुन १५ गते अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अनुमोदन भएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीमा ठूलो भुइँचालो जाने संकेत देखिएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको समूह असन्तुष्ट बनेर नयाँ पार्टी बनाउनेसम्मको तयारीमा जुटेको छ । उक्त तयारीका लागि श्रेष्ठ निकट नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।
केन्द्रीय सदस्यसँग सुझाव लिइरहेका छन् । २०७८ फागुन १७ गते दिउँसो प्रचण्ड हात्तीवनस्थित श्रेष्ठको निवासमा जानु अघि श्रेष्ठको समूहले आफूनिकट नेताहरुसँग भर्चुअलमाध्यमबाट छलफल गरेका थिए ।
उनीहरु २०७८ फागुन २० देखि २२ गतेसम्म बस्ने माओवादीको केन्द्रीय कमिटी बैठकसम्म कुर्ने र त्यस बैठकमा प्रचण्डलाई अनुशासन उल्लंघनको कारबाही गर्ने वातावरण बनाउने गरी आवाज उठाउने र उक्त आवाजको सुनवाई नभए नयाँ पार्टी बनाउने प्रयासमा लाग्ने बताइएको छ ।
त्यसैगरी, एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि नयाँ पार्टी बनाउने सोचमा छलफलमा जुटेको बताइएको छ । स्रोतका अनुसार हिजो फागुन १६ गते सोमबार झलनाथ खनालको निवास डल्लुमा नारायणकाजी श्रेष्ठ र वामदेव गौतम पुगेर नयाँ पार्टी बनाउने बारे छलफल भएको दाबी छ ।
उक्त छलफलमा वरिष्ठ अधिवक्ता युवराज संग्रौलामा पनि सहभागी रहेको स्रोतको दाबी छ । उनीहरु तीन नेता मिलेर एमसीसीविरुद्धको जनमत समेट्ने गरी नयाँ पार्टी बनाउने गरी छलफल भएको दाबी छ ।
यही कुरा बुझेर प्रचण्ड २०७८ फागुन १७ गते मंगलवार दिउँसो श्रेष्ठलाई भेट्न हात्तिवन पुगेको बताइएको छ । श्रेष्ठले माओवादी छोड्दा प्रचण्डलाई भने निकै घाटा लाग्ने अवस्था छ ।
श्रेष्ठलाई माओवादी नेताहरु गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, पेशल खतिवडा, अञ्जना विशंखेलगायतका नेताहरुले साथ दिने देखिएको छ । केन्द्रीय कमिटीमा श्रेष्ठका करिब १० प्रतिशत सदस्य रहेको बताइन्छ ।
यता, वामदेव गौतमको एकता संयोजन समिति पुरैले साथ दिने अवस्था देखिए पनि झलनाथ खनालसँग भने एकीकृत समाजवादीका को को नेताले साथ दिन सक्छन् भन्ने खुलेको छैन ।उनीहरुले नयाँ पार्टी बनाउने प्रयास गरेको चर्चाससँगै उनीहरुलाई फकाउने प्रयास पनि भइरहेको छ ।
माधव नेपाल, प्रचण्ड उनीहरुलाई फकाउन सक्रिय भएका छन् । त्यसैगरी, दोस्रो तहका नेताहरु पनि एकता जोगाउने प्रयासमा लागेका छ । बरु, सकेसम्म चुनावसम्म माओवादी र एकीकृत समाजवादी एकता गरेर चुनावमा जानुपर्ने मत पनि उठ्न थालेको छ ।

