सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा बिदा घोषणा भएको हो । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो । गृह मन्त्रालयबाट जारी सूचनामा लेखिएको छ, ‘वि.सं. २०७८ साल फागुन १९ गते
बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/११र/६ मा निर्णय भएको हुँदा भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
ग्याल्पो ल्होसार शेर्पा समुदाय तथा बौद्ध धर्मावलम्वीहरूको प्रमुख चाडमध्ये एक हो ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

