नेकपा (माओवादी केन्द्र) भित्रको विवादमा नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ।
संवादमा एकले अर्कोलाई सहकार्यका लागि प्रस्ताव गरेका छन् । यो संवादसँगै माओवादी केन्द्रभित्रको विवाद नयाँ मोडमा प्रवेश गर्न सक्ने अडकलबाजी हुन थालेको छ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र नेपालबीच भएको अनुदान सम्झौता माओवादी केन्द्रका अध्यक्ष दाहालसमेतको अग्रसरतामा प्रतिनिधिसभाबाट अनुमोदन भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ।
अध्यक्ष दाहालले एमसिसी सम्झौता अनुमोदन गर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्नुपर्ने, एमसिसी सम्झौताको विपक्षमा रहेका नेता श्रेष्ठ पार्टी छाड्न स्वतन्त्र रहेको र पार्टी छोड्दा वामदेव गौतमको जस्तै हालत हुने भनेपछि विवाद बढेको हो ।
दाहालको यस भनाइले आफ्नो अपमान भएको श्रेष्ठले बुझेका छन् । माओवादी केन्द्र दलीय रुपमा एमसिसी सम्झौताको पक्षमा उभिएपछि श्रेष्ठलगायत केही नेताले त्यसको विपक्षमा अभिव्यक्ति दिएका थिए।
एमसिसी सम्झौता अनुमोदनको विषयलाई लिएर अध्यक्ष दाहालसँग मतभेद उत्पन्न भएपछि नेता श्रेष्ठले मंगलबार आफूनिकट नेताहरूसँग परामर्श गरेका थिए। उनले मंगलबार नै वामदेव गौतम र झलनाथ खनालसँग पनि छलफल गरेको बताइएको छ तर यसको पुष्टि हुन सकेको छैन ।
पार्टीभित्र आफूनिकट नेताहरूसँग परामर्श गरेको अर्को दिन श्रेष्ठले विप्लवलाई भेटेर सहकार्यको प्रस्ताव राखेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पनि विचार मिल्ने र राष्ट्रियताको सवालमा मत मिल्नेसँग सहकार्य हुन सक्ने भन्दै त्यसका लागि श्रेष्ठसँग प्रस्ताव गरेको स्रोतले जनाएको नागरिक दैनिकले लेखेको छ ।
यस्तै, माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा १६ फागुनमा पत्रकार सम्मेलन गरी श्रेष्ठलाई आफ्नो बाटोमा जानसक्ने भनेपछि उनी गम्भीर बनेका हुन् ।
यसै पनि माओवादीभित्र पूर्व एकता केन्द्रबाट आएका नेताहरुलाई जनयुद्ध नलडेको भनी फरक व्यवहार गरिने चर्चा चल्ने गरेको छ । मुख्य पदमा उनीहरुलाई स्वीकार्न कठिन मानिने गरिएको छ ।
माओवादी जनयुद्ध हुँदा तत्कालीन एकता केन्द्रका नेताहरुले बाहिरी मोर्चाबाट महत्वपूर्ण भूमिका निभाउने गरेका थिए । तर, जनयुद्ध नलडेको भनी उनीहरुलाई शान्ति प्रक्रियापछिको एकता पछि फरक व्यवहार गरियो ।
त्यो भोगाई नारायणकाजी श्रेष्ठले गरेपछि उनी फरक तरिकाले प्रस्तुत हुने सोचमा पुगेको बुझिएको छ ।
श्रेष्ठले आफू पक्षीय पूर्व एकता केन्द्रका नेताहरुसँग बसेर गम्भीर छलफल समेत गरेका छन् । एमसीसी अनुमोदनमा माओवादीका पूर्व एकता केन्द्रका नेताहरु खुलेरै विरोधमा उत्रिए । त्यसप्रति प्रचण्ड आक्रोशित भए । उनले आफ्नै बाटोमा जान सक्ने बताए । प्रचण्डका विश्वासपात्र शक्ति बस्नेतले पनि त्यस्तै भने ।
असन्तुष्ट भएका श्रेष्ठले एमसीसी विरोधी दल र नेताहरुसँग परामर्श थालेका छन् । उनले १८ फागुनको विहानै विप्लवसँग कुराकानी गरे । भेटमा एमसीसीको विरोधमा अभियान चलाउनेबारे छलफल भएको खुलाइसकेका छन् ।
प्रचण्डले १७ फागुनमा हात्तिवन पुगेर श्रेष्ठलाई भेटे । उनले असन्तुष्ट श्रेष्ठलाई मनाउन खोजे । तर, उनी निकै चिन्तित भएको र फरक बाटोमा लाग्नुपर्ने विकल्पबारे पनि सोच्न थालेको बुझिएको छ ।

