एमसीसी नेपालको हितमा नरहेको निष्कर्ष निकाल्दै देशमा विरोध कायमै रहेको मौका पारेर नेपाल कम्युनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक यात्रा तिव्र गतिमा अघि बढाएका छन् ।
विप्लवले भेटको सुरूआत एमसीसी प्रकरणमा असन्तुष्ट रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबाट गरे । पार्टी विभाजनका लागि समेत तयार हुने भनेर माओवादीभित्र छुट्टै छलफल श्रेष्ठले चलाईरहेका बेला विप्लवले उनलाई भेटेर पार्टी एकताको प्रस्ताव राखेका छन् ।
पार्टीमा अन्तरसंघर्ष चर्किरहेका बेला विप्लवसँग श्रेष्ठको अंकमालले माओवादीका धेरै नेतालाई झस्काएको छ । यसअघि श्रेष्ठको असन्तुष्टिमा खासै ‘सिरियस’ नदेखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुनलगायतका नेताहरू हात्तीवनमा श्रेष्ठलाई भेट्न पुगे ।
विप्लव माओवादीमा छँदै महत्वाकांक्षी नेता मानिन्थे । प्रचण्डसँग टक्कर गर्ने गरेका उनी आफू पनि प्रचण्डजस्तै बन्ने बताउँथे । त्यही योजनाअनुसार उनले तत्कालीन एकीकृत नेकपा ९माओवादी० मा विद्रोह गरेर नयाँ पार्टी समेत निर्माण गरेका थिए । वैद्य, रामबहादुर थापा ‘बादल’ सहित धेरै माओवादी नेताले विद्रोह गर्नुका पछाडि उनकै हात थियो ।
विप्लवले बुधबार नै श्रेष्ठपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र प्रेम सुवालसँग भेट गरे । त्यस्तै साँझतिर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटघाट गरे ।
दौडधुपलाई विप्लवले विहीबार पनि निरन्तरता दिएका छन् । उनले बिहीबार बिहानै नेकपा ९एमाले०का नेता भीम रावलसँग भेटघाट गरेका छन् ।
विप्लवले पछिल्ला दुई दिनमा जति पनि नेताहरु भेटे ती सबै एमसीसीका कारण आफ्नो पार्टीभित्र रुष्ट छन् । एमसीसीमा राष्ट्रघात भएको ठहर उनीहरुको छ । उनीहरुसँगै मोर्चाबन्दी गर्ने प्रयास विप्लवको छ ।
‘देशभक्त, राष्ट्रवादी र स्वाधीनताका पक्षधरहरू एकीकृत र ध्रुवीकृत हौँ,’ प्रायः सबै भेटमा विप्लवको साथमा रहेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले फेसबुकमा लखेका छन् ।
एमसीसीविरोधी शक्तिलाई ध्रुवीकृत गरेर आन्दोलनको उठान प्रयास विप्लवले गरेका छन् । त्यसैअनुसार एमसीसीविरुद्ध खुल्लामञ्चमा भोलि सभासमेत हुँदैछ । जसमा पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ र एमाले नेता रावलले पनि सम्बोधन गर्ने भएका छन् ।
विप्लवकै प्रयासमा उनीहरू एउटै मञ्चमा सहभागी भएर भाषण गर्न तयार भएका हुन् । विप्लवले यसअघि नै साना वामदलको एमसीसीविरोधी मोर्चा बनाएका छन् । जसमा ६ साना वाम दल र २ मोर्चा छन् । हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य, आहुतिलगायतको पार्टी पनि सामेल छ ।
मोर्चामा नरहेका अन्य फार्टीका ‘बिग फिगर’ को समेत साथ लिएर शक्ति बढाउँदै लैजाने रणनीति विप्लवको देखिन्छ ।
विप्लवको योजना एसमीसीको विरोधमा मात्रै सीमित छैन । एमसीसीविरोधी मोर्चा बनाएर त्यसलाई एउटै पार्टीमा ढाल्ने र त्यो सम्भव नभए मोर्चामार्फत चुनावमा जाने योजना विप्लवको छ ।
हुन त विप्लवको पार्टी र उनीसम्बद्ध मोर्चाले स्थानीय चुनावलाई उपयोग गर्ने कि बहिष्कार भन्नेबारे निर्णय गरिसकेको छैन । तर, आफूहरू चुनावमा पनि जान सक्ने नेकपाका नेता धर्मेन्द्र बास्तोला बताउँछन् ।
शक्ति आर्जनका लागि उनी यस्तै कुनै बलियो मुद्दाको प्रतीक्षामा थिए, जुन एमसीसी बनिदियो । एमसीसीविरोधी मोर्चालाई बलियो बनाउँदै लगेर मुलधारको राजनीतिमा आफ्नो ‘स्पेस’ बनाउने दाउ विप्लवको छ ।
‘

