पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गर्न राजी हुनुको रहस्य खोलेका छन् । उनले सभामुखको पद जोगाउनका लागि व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्न राजी भएको खुलासा गरेका छन्।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोनदनका लागि व्याख्त्यात्मक टिप्पणीसहित अनुमोदन गर्नुपरेको प्रस्ट्याए।
‘एमसीसीका कारण गठबन्धन भत्किने अवस्थामा पुगेको थियो। एमालेले गठबन्धन पनि भत्काउने र संसद पनि विघटन गर्ने खेल खेल्यो। एमालेको दाउँलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेका हौं,’ प्रचण्डले आजदेखि राष्ट्रियसभा गृहमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा भने।
उनले गठबन्धन बचाएर एमालेलाई फेरि कर्नरमा पुर्याइदिएको दाबी गरे। ‘एमसीसी अनुमोदन गर्ने सहमति नभएको भए गठबन्धन टुट्थ्यो। तर एमालेको प्रयास विफल पारेर फेरि कर्नरमा पुर्याइदियौं,’ उनले भने।
बैठकमा एमसीसी अनुमोदन र पार्टीभित्र सिर्जना भएको आन्तरिक द्वन्द्व र पदाधिकारी चयनबारे पनि छलफल हुने बताइएको छ।

