सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। एमसीसी सम्झौता प्रतिनिधिसबाट अनुमोदन भएसँगै देउवा मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका हुन्। देउवाले यस विषयमा सत्ता साझेदार दलसँग समेत छलफल गरिसकेका छन्।
२५ जनासम्म मन्त्री बनाउन सकिने भए पनि हाल देउवाको मन्त्रिपरिषदमा २३ जना मात्रै सदस्य रहेका छन् । रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी देउवाले आफैंसँग राखेका छन्।
यस्तोमा देउवा माथि महामन्त्री गगन थापालाई मन्त्री बनाउन दबाब परेको छ। एमसीसी अनुमोदन गराउन ठूलो सहयोग गरेका थापालाई मन्त्री बनाउनुपर्ने माग कांग्रेसभित्रै उठ्न थालेको छ।
‘उहाँले प्रधानमन्त्रीलाई एमसीसी अनुमोदन गराउन ठूलो सहयोग गर्नुभयो। उहाँ देशले आश गरेको नेता हो। सरकारको लोकिप्रयता र जनहितको काम गर्नका लागि पनि उहाँलाई मन्त्री बनाउनुपर्छ भनेर हामीले भन्दै आएका छौं,’ कांग्रेसका एक नेता भन्छन।
देउवा प्रधानमन्त्री बनेलगत्तै पनि थापा स्वास्थ्यमन्त्री बन्ने चर्चा थियो। तर, देउवाले उनलाई मन्त्री बनाएका थिएनन्। गगन आफैंले पनि त्यो बेला मन्त्री बन्न अस्विकार गरेका थिए। अहिले पुनः थापालाई मन्त्री बनाउन देउवा माथि दबाब बढेको छ।
देउवाले थापालाई मन्त्री बनाउँछन् वा बनाउँदैनन्रु थापाले मन्त्री बन्न इच्छा देखाउँछन् वा देखाउँदैनन्रु त्यो अहिले नै भन्न सकिने अवस्था भने छैन।
देउवाले कांग्रेसबाट केही मन्त्रीलाई फिर्ता गरेर थप सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन्। महामन्त्री थापालाई मात्रै होइन लामो समय देखि साथ दिँदै आएका पुष्पा भुसाल र मीन विश्वकर्मालाई मन्त्री बनाउनुपर्ने दबाब पनि देउवालाई परेको छ।
महाधिवेशनमा सभापति बन्न साथ दिएका प्रकाशमान सिंहलाई गृहमन्त्रीको जिम्मेवारी दिने सहमति भइसकेको छ, भने सुजाता कोइरालाले पनि मन्त्री बन्ने इच्छा देखाएकी छन्।
सिंहलाई गृहको जिम्मेवारी दिइएको अवस्थामा बालकृष्ण खाँणलाई रक्षामा लैजाने तयारी भएको बताइएको छ। त्यसबाहेक राजेन्द्रकुमार केसी, सञ्जय गौतम र प्रकाश स्नेही पनि मन्त्रीका लागि चर्चामा छन्। मन्त्रिपरिषद हेरफेर हुँदा विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठसहित कांग्रेसका अरु केही मन्त्री बाहिरिने सम्भावना रहेको छ।

