काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले एमसीसी चीनविरुद्ध नाकाबन्दी गर्न ल्याइएको बताएका छन् । शुक्रबार एमसीसी अनुमोदनको विरोधमा काठमाडौंमा आयोजित आमसभामा बोल्दै वैद्यले सो कुरा गरेका हुन् ।
एमसीसी चीन र भारतकाविरुद्ध परिलक्षित रहेको बताउदै उनले यसप्रति दुवै देश पनि खुशी नभएको बर्ता । उनले भने – ‘चीन मात्र होइन यो भारतका विरुद्ध पनि परिलक्षित छ, त्यसैले भारतीयहरू पनि खुशी छैनन्’
एमसीसीको व्याख्यात्मक घोषणा भनेर राजनीतिक दलहरुले भ्रम फैलाएको भन्दै उनले यसलाई अमेरिकाले नस्वीकारेको आफ्नो बुझाइ रहेको बताए । उनले एमसीसीका विषयमा आन्दोलन जारी राख्न पनि आग्रह गरे । उनले नेपालमा अमेरिकी साम्राज्यवादको अखडा बन्न दिन नहुने उनको भनाई छ ।
एमसीसी सम्झौताबारे तीन नेताको ‘नोट अफ डिसेन्ट’
नेकपा माओवादी केन्द्रका तीन नेताहरुले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे तल्लो कमिटी छलफल लैजानुपर्ने माग गर्दै नोट अफ डिसेन्ट लेखेका छन् ।
कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव राख्दै तल्लो तहसम्म छलफल लैजानु पर्ने माग गरेका हुन् ।
उनीहरुको प्रस्तावमा व्याख्यात्मक घोषणाको प्रस्ताव पार्टी विधिअनुसार नआएको, एमसीसी राष्ट्रिय हितविपरीत भएको, इन्डो(प्यासिफिक स्ट्राटेजीको अंग भएको दाबी छ ।
‘एमसीसी राष्ट्रहितअनुसार छैन । यस विषयमा तल्लो कमिटीतर्फ लगेर छलफल गर्नुपर्छ,’ एक स्थायी कमिटीका सदस्यले भने, ‘पार्टी एकतालाई जोगाइराख्नका लागि विषयमा सबै नेताहरुले ध्यान दिनुपर्छ ।’
शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । दाहालले बाध्यात्मक अवस्थामा एमसीसी अनुमोदन गर्नु परेको बताएका थिए । श्रेष्ठले एमसीसीमा आफ्नो फरकमत रहेको तर पार्टीलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताएका थिए ।

