अर्थमन्त्री जनार्दन शर्मालाई हटाउने तयारी भएको छ । अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्र माथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्न थालेका छन् ।
प्रधानमन्त्री निकटस्थहरूले देउवालाई अर्थमन्त्री परिवर्तन गरेर अर्थतन्त्रको ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिइरहेका छन् । देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेर निर्णय लिने तयारी गरेको देउवा निकट स्रोत बताउँछ ।
“उहाँ (जनार्दन शर्मा)मा अर्थतन्त्रको पर्याप्त ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्श गरेर अघि बढ्ने स्वभाव पनि नभएका कारण अर्थमन्त्री परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रधानमन्त्रीले चाँडै माओवादी केन्द्रलाई परराष्ट्र मन्त्रालय दिएर भएपनि अर्थ मन्त्रालयमा अर्कै व्यक्तिलाई पठाउन सक्नुहुन्छ,” स्रोतले भन्यो, “प्रचण्डजीले मान्नुभएन भने पनि उहाँकै पार्टीबाट अर्थतन्त्र बुझेको व्यक्ति पठाउन प्रधानमन्त्रीले भन्नुहुने छ ।”
अर्थमन्त्री शर्माले अर्थमन्त्रालयकै विज्ञ कर्मचारीसँगसमेत परामर्श नगरी निर्णय लिने गरेको, मातहतका निकायका पदाधिकारीसँग एक्लै छलफलमा बस्ने गरेको तथा जुनियर कर्मचारीको सरुवामासमेत चासो राख्ने गरेको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरूसमेत असन्तुष्ट छन् ।

