नेकपा माओवादी केन्द्रर्ला धक्का लागेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने एक कार्यक्रममा मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया एमाले प्रवेश गर्ने भएपछि माओवादी कमजोर बन्न लागेको हो ।
बगडियाले आफू एमाले प्रवेश गर्ने निधो भएको जानकारी दिए । ‘मैले पार्टी प्रवेश गर्ने निधो गरेँ,’ उनले भने । एमालेले आउँदो फागुन २५ गते रंगेलीमा सार्वजनिक सभा गर्दैछ ।
नेकपा एमालेले आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित केही जनप्रतिनिधिहरू पनि पार्टी प्रवेश गर्ने तयारी गरेको एमालेले जनाएको छ । २०७४ सालको निर्वाचनमा रंगेली नगरपालिकाबाट बगडियाले ८ हजार ८६ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत प्राप्त गरेका थिए ।
बगडिया भने नेकपा माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा नगरपालिकाका प्रमुखमा निर्वाचित भएका हुन् । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि नै वगडिया नेकपा माओवादी केन्द्रसँग टाढिएका थिए ।
आउँदो स्थानीय तहको निर्वाचनमा बगडिया फेरि रंगेली नगरपालिका प्रमुखमा लड्ने तयारीमा छन् ।

