पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।
संसद्मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेका हुन् । ‘संसद्मा केपी ओली कति सहने । एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने,ु उनले भने,’त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।’
एमाले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको छ ।
११ सदस्यीय ‘महाअभियोग सिफारिस समिति’ गठन
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रक्रिया अघि बढाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति बहुमतले स्वीकृत भएको छ । समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन् ।
आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सोको प्रस्ताव प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेका छन् । समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन् ।
जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो । काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको थियो । महाभियोगपछि जबरा स्वतः निलम्बित छन् ।
सभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

