एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर शक्तिशाली नेताले पार्टी प्रवेश गरेका छन् । आइतबार विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमाण्डर थिए । उनी त्यसपछिको प्रतिनिधिसभा चुनावमा भने गगन थापाको चुनावी अभियानमा थिए ।
रन्जुले पनि साझा विवेकशील पार्टी छाडेर स्वतन्त्र रहने घोषणा गरिसकेकी छन् । वैद्यको समूह भने अर्को दिन एमाले प्रवेश गर्ने तयारी छ ।
एमाले प्रवेश गर्दै वैद्यले आफूले काम गर्ने नेतृत्व खोजेको र त्यस्तो नेतृत्व तत्कालका लागि नेपालमा केपी ओलीबाट मात्र सम्भव देखेर एमालेमा समाहित हुने निर्णय गरेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार डा। राजन भट्टराईलगायत स्थानीय नेताहरु सहभागी थिए । काठमाडौं ज्ञानेश्वरका स्थानीय वैद्य उज्ज्वल थापाको अभियानबाट विवेकशील पार्टीमा जोडिएका थिए ।
यता, रूपन्देहीको मायादेबी गाउँपालिकाका वडानम्बर १ का अध्यक्षसहित विभिन्न पार्टीका कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
अध्यक्ष पल्टु लोध, कार्यपालिका सदस्य रिना चौधरीसहित विभिन्न पार्टीबाट सयौं कार्यकर्ता पार्टी प्रवेश गरेको एमालेले दावी गरेको छ । उनीहरुलाई एमाले केन्द्रीय सचिव छबिलाल विश्वकर्मा, रुपन्देही इन्चार्ज भुमिस्वर ढकाल, जिल्ला अध्यक्ष तेजेन्द्र केसीले उनीहरूलाई एमालेमा स्वागत गरे ।
एमाले सचिव विश्वकर्माले नेकपा एमालेले दक्षिणी क्षेत्रमा पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान तीब्र पारेको र मर्चवार लगायतका क्षेत्रबाट हजारौं कार्यकर्ता प्रवेश गरिरहेको बताए ।

