नेकपा एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताएका हुन् ।
उनले संसद् अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गरे । उनले भने, ‘‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकारमाथिको खेलवाड हो। र, यो अत्यन्त गैरजिम्मेवार काम हो।
किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधिमार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जीविकाजस्ता महत्त्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् ।
‘अर्ली इलेक्सन’ को सम्भावना छैन – वर्षमान पुन
सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसद भङ्ग गरेर ‘अर्ली इलेक्सन’ को सम्भावना नभएको बताएका छन् ।
आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नरहेको उनले बताएका छन् ।
‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मंसिरपछि पाँच वर्ष पूरा भइसक्ने भएकाले यसपछि पनि निर्वाचन गर्न मिल्दैन’ उनले थपे, ‘हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौं ।
अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन ।’उनले भदौदेखि संसद अनिणर्यको अवस्थामा रहेर चल्न नसकेको अवस्थामा जनताका मुद्दामा छलफल गर्न नसक्ने भएकाले पार्टी नेतृत्वले यस्तो सोचेको हुनसक्ने बताए ।
उनले त्यस क्रममा उनले अब स्थानीय निर्वाचन सार्ने सम्भावना पनि नभएको बताए । कानुनी र संवैधानिक रुपले पनि वैशाख निकै व्यस्त रहेको पनि बताए ।

