नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन नसर्ने दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन सार्ने खेलमा सत्तारुढ गठबन्धन लागेको आशंका व्यक्त गर्दै आएको छ।
त्यसको जवाफ दिँदै महामन्त्री थापाले स्थानीय तहको निर्वाचन हुने कुरामा आशंका जनाउन नपर्ने बताएका हुन्। उनले निर्वाचन ३० गते हुने र त्यसभन्दा एक दिन पनि तलमाथि नहुने दाबी गरेका छन्।
कांग्रेस सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले सोमबार आयोजना गरेको नेपाली कांग्रेस १४औँ अधिवेशन, सुदृढ संगठन, गतिशील नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एमालेलाई निर्वाचनको मितिका सन्दर्भमा अनावश्यक आशंका छाडेर हारका लागि तयार रहन सुझाएका छन्।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन्छ। वैशाख ३० भन्दा एक दिन पनि तलमाथि हुँदैन। म एमालेलाई आग्रह गर्न चाहन्छु कांग्रेससँग हारको सामना गर्न तयार भएर बसे हुन्छ,’ उनले भने ।
उनले देशभर कांग्रेसलाई जिताउने अभियान सुरु भए भइसकेको बताए। ‘घर घर जाउँ, कांग्रेस जिताउँ अभियान कांग्रेसले सुरु गर्छ। यसका लागि जिल्ला, पालिका हुँदै वडा तहसम्म प्रतिनिधिहरु खटाउने काम हुँदैछ। यसको अन्तिम तयारीमा पार्टी पुगेको छ,’ उनले भने।

