सिन्धुपाल्चोकको बफेली गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बफेली गाउँपालिकाका अध्यक्ष क्षेत्रीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
क्षेत्री २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । क्षेत्री एमालेको बागमती प्रदेश सदस्य समेत हुन् ।
क्षेत्रीसँगै, एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य कृष्ण क्षेत्री, सुवास सन्दास र विष्णु तिमिल्सिना पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई सभापति देउवाले पार्टी सदस्यता समेत दिएका छन् ।
स्थानीय निर्वाचनका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय नेता खटाउने, जनताको घरदैलोमा जाने
स्थानीय तहको निर्वाचनको प्रचारका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेतालाई खटाउने भएको छ। आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि कांग्रेसले केन्द्रीय नेतालाई जिल्ला पठाउन लागेको हो।
सबै जिल्लामा चुनावी प्रचार अभियानमा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाउन लागिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले २९ फागुनमा चुनाव प्रचार अभियान सुरु गर्दैछ । हाल जिल्ला जाने नेताहरुको सूची तयार गर्ने काम भइरहेको महामन्त्री शर्माले बताए ।
कांग्रेसले एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ । ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई संगठन विस्तारसँग पनि जोडिने महामन्त्री शर्माले बताए । अभियानका क्रममा संगठन विस्तार, प्रशिक्षण, भेला लगायतका कार्यक्रम संचालन गर्ने कांग्रेसको तयारी छ।

