राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ। परीक्षा भौतिक उपस्थितिमा नै हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।
कोरोना महामारीको प्रभाव कम हुँदै गएकाले परिस्थिति सहज बनेकाले भौतिक उपस्थितिमा नै परीक्षा हुने अर्यालले बताए। ‘परिस्थिति सहज बनेको छ,’ सदस्य सचिव अर्यालले भने‚ ‘परीक्षा अनलाइनबाट होइन, भौतिक उपस्थितिमै हुन्छ।’
केही सञ्चारमाध्यममा अनलाइन माध्यमबाट परीक्षा हुने बताइए पनि अन्यौलमा नपर्न उनले सुझाव दिए। यस वर्ष करिब चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन्।
फागुनभित्रै परीक्षा तालिका सार्वजनिक
सदस्य सचिव अर्यालले कक्षा–१२ को परीक्षा तालिका फागुनभित्र सार्वजनिक गर्ने तयारी रहेको बताए। उनका अनुसार परीक्षा समय स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तोकिने छ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको हुँदैछ।
पछिल्लो समय कोभिड–१९ संक्रमणको अवस्था कम भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि भौतिक उपस्थितिमै गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ। परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।
बोर्डका अनुसार सबै जिल्लामा दुई हजार परीक्षा केन्द्र तोकिएको छ। ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसईई परीक्षा दिँदैछन्। कोभिडका कारण यस अघि दुई पटक आन्तरिक मूल्यांकनबाट मात्रै नतिजा प्रकाशित गरिएको थियो।

